गोरखकालीको यात्रा
गोरखा दरबारलाई नै गोरखकालि दरबार पनि भन्ने गरीन्छ । किनभने यस दरबारकोपूर्वपट्टि गुफामा गुरु श्री गोरखनाथको पुजा स्थान र पशचिमपट्टि भगवती कालिको पूजाकोठा छ ।यहाँ प्रतेक अष्टमी बडा दशैं र चैत्र अष्टमीमा भगवतीको विशेषपूजा हुने गर्छ । त्यसतै गुरु श्री गोरखनाथको गुफामा दैनिक पूजा एवं रोट चढाउने गरीन्छ ।
संवत 1481 मा द्रव्य शाहको राज्यरोहण भएपछि1481 आश्विन शुक्ल प्रतिपदाबाट पुनश्चरण आरम्भ गरि मन्त्र शक्तिका प्रभावले तान्त्रीक विधिबाट लमजुङ्ग कालिलाई लमजुङ्गबाट दीपशक्तिको माध्यमले गोरखाल्यई गोरखा दरबारमा स्थापना गरीएको भन्ने भनाई गोरखामा सुनिन्छ । यसबाट गोरखाराज्य संगै गोरखकालि भगवतीको स्थापना भएको अनुमान हुन्छ ।
यहाँ भगवती कालिको स्थापना कहीले भयो भन्ने यकीन फ3माण भने छैन तर पनि गोरखा वंशावलीमी जनाईए अनुसार राजा राम शाहले पर्वतका नारायण मल्लको सल्लाह अनुसार पर्वतको ताकम भन्ने स्थानमा कालिगण्डकिको तटमा छ महीनासम्म भगवतीको उपासन गरेको र त्यहाँ उनले भगवतीको दर्शन र वरदान पाएपछी फर्केर गोरखामा आएको कुरा उल्लेख छ ।यसबाट राम शाह शक्तिको उपासक भएकाले शक्ती स्वरुपी कालिलाई आफ्नो दरबारमा स्थापना गरी इष्टदेवीका रुपमा उपासना गर्ने गरेको र त्यसपछि यही क्रमलाई निरन्तरता दिदै आएको हुनसक्छ भन्ने अनुमान छ । शक्ति स्वरुपी कालिको चरीत्र, साधना र उपासना सम्बन्धमा मार्कण्डेयपुराण, शिवपुराण, कालितन्त्र जस्ता ग्रन्थहरुमा राम्रो वर्णन पाईन्छ ।
सिध्द श्री गुरु गोरखनाथलाई योगाचार्यको रुपमा मानिन्छ र उहाँलाई सिद्दकाय, अमरकाय योगपुरुषको रुपमा सत्य, त्रेता, व्दापर कलि चारै युगमा उहाँको प्रत्यक्ष दर्शन पाएका घटनाहरु प्रशस्त छन् । यसबाट उहाँ द्वेश काल र परिस्थितीबाट मुक्त योगात्मा हुनु हुन्छ । अधिकारी शिश्यलाई जहीले र जुनसुकै अवस्थामा पनि उहाँको दर्शन तथा मर्ग निर्देशन हुन्छ । यसरी हेर्दा श्री गुरु गोरखनाथलाई शिवअवतारको रुपमा मान्न सकीन्छ । शिव-गोरक्ष भन्ने नामबाट पनि उहाँको शिवाअवतारको पुष्टि हुन्छ ।
तल्लोकोट
गोरखा दरबारको पश्चिमपट्टी सल्लाको रुखहरुले ढाकिएको एक थुम्को छ । य़ही थुम्कोलाई नै तल्लोकोट भनिन्छ । यस ठाउँमा वि. सं. 1616 मा लमजुङ्गका राजकुमार द्रव्य शाहले गोरखाका तत्कालिन खड्का राजालाई मारेपछि गोरखामा शाह वंशको सुरुवात भएको थियो ।
राम शाह चौतारो
तल्लोकोटदेखि पूर्व गोरखा दरबारबाट पश्चिमपट्टि एउटा चौतारो छ । यस चौतारोलाई राजा राम शाहले न्याय दीने चौतारोको रुपमा चिनिन्छ । य़सैलाई राम शाह चौतारो भनिन्छ । राम शाहले कुनै कचहरी, सभा, न्याय र उजुरी सुन्ने, महत्वपूर्ण निर्णय र न्यायका कार्यहरु सबै यसै चौतारामा सम्पन्न गर्थे भन्ने भनाई छ ।
गणेशस्थान
गोरखा दरबारदेखि पश्चिम रामशाह चौतारादेखि पूर्व एउटा स्रै राम्रो ढुङ्गाको मन्दिरभित्र पूर्ण कदको सत्य स्वरुपेश्वर सिद्दी गणेशको गणेश मन्दिर छ । यो मन्दिर राजा नरभूपाल शाबको पालामा स्थापना भएको अनुमान छ । गणेशको पूर्णकदको मूर्ति दुर्लभ मानिन्छ।
शीतल पाटी
गोरखा दरबारको पशचिमपट्टि प्रवेशद्वार अगाडीएउटा सानो राम्रो पाटी छ । यसलाई शीतलपाटी भनिन्छ । यो पाटी विश्राम गर्नको लागि बनाईएको भएतापनि हाल यो पाटी श्रद्दालुहरुको स्वागतका लागि प्रयोग गर्ने गरीएको छ ।
काली मन्दिर
गोरखाको मूल दरबारको पशचिमपट्टि गजुर भएकोएउटा भव्य मन्दिर छ, यसलाई कालीका दरबार पनि भनिन्छ । यहाँ प्रत्येक अष्टमी, चैते दशैं र बडा दशैंमा विषेश पूजाआजा गरीन्छ । अरु समयमा भक्तहरुले ढोकामा भगवती कालीकाको पूजा गर्ने गर्दछन् । यसको भित्रपट्टि कालीकाको पूजाकोठा छ ।
रंग महल
कालीका मन्दिर र गोरखा दरबारको मूल भबन बिचमा पटाङ्गिनी सहितको रंग महल छ । यसको छिंडीमा दुईवटा ठुलाठुला नगारा राखिएका छन् । यसमा एक अभिलेख कुँदीएको छ । यस अभिलेखमा शाके संवत 1531 मासे 5 श्री महाराज छत्र शाहस्य कृति भन्ने उल्लेख गरीएको छ ।
मूल दरबार
यो दरबारको तल्लो तलामा गद्दी, श्री 5 बडामहारागधिराज पृथ्वीनारायण शाह जन्मेको कोठा र उनलाई सेकताप गरेको अँगेनो छन् । यस अँगेनामा त्यसबेलादेखि हालसम्म अखण्ड रुपले आगो ननिभाईकन राखिएको छ । बिचको तलामा बैठककोठा, तोषाखाना र माथिल्लो तलामा भान्छाको व्यवस्था रङेको थियो भनिन्छ ।यो दरबार राजा राम शाहको कार्यकालमा बनेको अनुमान छ । उनको राज्यकाल वि. सं. 1666- 1693 मानिएको छ ।
पणडित पाटी
गोरखा दरबारको मूल झोका अगाडि एउटा सानो पाटी छ । यसलाई पण्डितपाटी भनिन्छ । यो पाटीमा भक्त प्रलादले नृसिंह अवतार भगवानलाई जोडेको र नृसिंह अवतारले हिरण्यकशीपलाई पेट फोरेर मार्न लागेको चित्र छ । अर्को कदमको रुखमुनि राधाकृष्ण अंकीत चिश्र पनि छ । यो पाटीमा ब्रामणहरुलाई वरणी गर्ने गरीन्छ ।
गुरु श्री गोरखनाथ गुफा
गोरखा दरबारको पुर्वपट्टि केहि तल गुरु श्री गोरखनाथको गुफा छ । यहाँ दैनिक कानफट्टा योगीहरुबाट श्री गोरखनाथको पूजा हुने गर्दछ । यहाँ साँझ र बिहान दैनिक नगरा बजाई घण्टा, डमरुको धुनमा पूजा गर्ने चलन छ ।
रोट पाटी
गोरखा दरबारदेखि पूर्वपट्टि एउटा पाटी छ । यस पाटीमा गुरु श्री गोरखनाथको पुजामा प्रसाद लगाउवका लागि रोट पकाउने गरीन्छ ।त्यस बाहेक यहाँ श्री गोरखनाथबाबाको धुनिको रुपमा यो पाटी रहेको छ ।
पशुपति गुह्येश्वरी
रोटपाटीको पूर्वपट्टि पंचमुखी शिवको स्थापना गरीएको छ । यसको नमुना काठमाडौंको पशुपतिसंग मिल्दोजुल्दो छ । त्यसकारण यसलाई पशुपति भन्ने गरिन्छ । यहाँ शिवजीलाई जलधारा चढाउनका लागि चाँदीको जलहारी पनि राखिएको छ । यसैको साथमा भगवती गुह्यश्वरीको प्रतिक ढुंगामा कुँदेर राखिएको छ ।
चौघेरा भवन
यो भवन पृथवीपती शाहको पालामा बनेको अनुमान छ ।यो भवन त्यसबेला अतिथि निवासका लागि प्रयोग गरिएको थियो र अहीले पनि यसलाई विशिष्ट अतिथि निवासको रुपमा सुरक्षित गरीएको छ । यस भवनको पूर्वपट्टि एउटा ढुंगाले बनेको मन्दिर छ । यसलाई श्री विध्धामन्दिर भनिन्छ ।
हनुमान भन्ज्याङ
चौघेरा भवनबाट तल भन्ज्याङ छ । यो भन्ज्याङलाई हनुमान भन्ज्याङ भनिन्छ ।यहाँ हनुमानजी, गणेशजी, सरस्वती र शिवपरिवारको प्राचिन मुर्तिहरु छन् ।
चण्डीस्थान
गोरखा दरबारकदेखि पूर्वपट्टि हनुमान भन्ज्याङ भन्दा माथि चण्डीको स्थान छ ।यहाँ चौतारामा शिवलिंग छ र शिवलिंगदेखि पूर्वपट्टि बाघमा चढेकि भगवती चण्डीको मूर्ति छ । यसैलाई चण्डीस्थान भनिन्छ । यहाँ वैशाख शुक्ल पुर्णिमा तथा चण्डी पुर्णिमाका दिन पूजा गरीन्छ । चण्डीस्थान नजीकै श्री गोरखनाथको पादुका र सीताको पाईला भनिने पैतालाको आकृति कोरीएको छ । यस ठाँउबाट गोरखा दरबारको राम्रो दृश्यावलोकन गर्न सकिन्छ र मौषम राम्रो छ भने निकै टाढा सम्म पनि देखिन्छ
उपल्लो कोट
चण्डीस्थानबाट पूर्वतर्फ करीब दश मिनेट उकालो चढेमचि उपल्लो कोट पुगिन्छ । म्याग्दीको पुनहिल भने जस्तै गोरखाको उपल्लो कोट दृश्यावलोकनमा निकै महत्वपूर्ण मानिन्छ । यहाँबाट धैलागिरी देखि गणेश हिमाल सम्मका मनोरम हिमश्रृङखलाहरु देखन पाईन्छ । समुद्रि सतहबाट करिब 1557 मिटर उचाईमा रहेको यस ठाँउमा बज्र भैरबकोमन्दिर छ ।यहां बज्र भैरव, विन्ध्यावासिनि र उपल्लो कोट कालीको दर्शन गरीन्छ ।यहाँ सिस्मोग्राफ, टेलिभिजन र दुर संचारको टावर पनि छ । यहाँबाट रमणिय हिमाली दृश्य, सूर्योदयको दृश्य, धादींङ र गोरखा जिल्लाका अधिकांस भू-भाग, तनहुँ, लमजुंङ लगायत गोरखाका प्रसिद्द सात कोटहरु ( सुलिकोट, मीरकोट, धुवाँकोट, लकाङकोट, लिगलिगकोट, उपल्लोकोट र तल्लोकोट ) पनि यहाँबाट देखिन्छ । नदीनाला, पहाडपर्वत, हरीया वनजंगलको दृश्यावलोकनको लागि पनि यो ठाँउ निकै महत्वपूर्ण छ । |